फिदिम, ११ मङ्सिर । भारत र सिक्किमसँगका सीमावर्ती क्षेत्रमा रहेका पर्यटकीय स्थलको प्रवर्धन गर्न भन्दै पाँचथरको फालेलुङमा महोत्सव आयोजना गरिएको छ ।
फालेलुङ ४ को थाप्लिटारमा महोत्सव आयोजना गरिएको हो । महोत्सवको प्रवर्धन फालेलुङ गाउँपालिकाले गरेको छ भने व्यवस्थापनको जिम्मेवारी तिन सिमाना जन सेवा समाजले गर्ने भएको छ ।
त्यस क्षेत्रका लाम पोखरी, सुके पोखरी, भैसेभोखरी, हेवा गङ्गा, तीनछाँगे झर्ना, पानावा झर्ना, मुवा झर्ना, नरेलुङधाम, पुस्तके ढुङगा जस्ता पर्यटकीय स्थल र त्यहाँ पाइने २८ प्रजातीका गुराँस र जडिवुटी, रेडपाण्डा, गिद्वभालु, बँदेल, बनकुकुर, मृग, भीर मौरी, कण्ठे चाँचर, भ्याकुर, प्युरा लगायतका पंक्षीको संरक्षणका लागि महोत्सवले सघाउ पुर्याउने आयोजक तीन सिमाना सेवा समाजका अध्यक्ष योगेन्द्र सावदेनले बताए ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा पर्यटकीय र धार्मिक स्थलको प्रचार प्रसारका लागि अन्तरक्रिया, भ्रमण र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने बताइएको छ । महोत्सवमा पाँच हजारको सहभागिता रहने अपेक्षा आयोजकको छ ।
फिदिममा आयोजित पत्रकार सम्मेलनमा आयोजक तीन सिमाना जनसेवा समाजका पदाधिकारीहरूले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । महोत्सव आयोजना स्थलबाट कञ्चनजङ्घा, कुम्भकर्ण र सगरमाथा सहितका आधा दर्जन भन्दा धेरै हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।






