पशुपतिनगर, १७ असोज । इलामको फिक्कलबाट नयाँ बजार जाने सडक पहिरोका कारण अवरुद्ध बनेको छ । सूर्योदय नगरपालिकाको बरबोटेदेखि जोगमाई जाने सडक खण्डको ढोडेमा पहिरोको कारण सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
सडक खोलिएको लामो समयपछि गत वर्ष मात्र सम्पन्न कालोपत्रे सडक पहिरोले बगाएको छ । उक्त सडकमा पहिरोले क्षती गरेपछि यातायत सञ्चालन पूर्ण रुपमा रोकिएको छ । यस्तै, बरबोटेदेखि पान्दम जील सडक पहिरोको कारण अवरुद्ध भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार पशुपतिनगर देखि मंगलबारे सडक अवरुद्ध समेत अवरुद्ध बनेको छ । सूर्योदय ३ को थापाथली जिल खण्ड स्थित गोठ डाँडामा पहिरोले सडक बगाएको छ ।
फिक्कल नयाँ बजार सडकककै मयु खोलाको पुलमाथिबाट पानी बगेका कारण पुल समेत जोखिम परेको स्थानीय रोषन काफ्लेले जानकारी दिनुभयो । उक्त पुल तीन बर्ष अघिको बाढीका कारण दवीएको थियो । लगातारको वर्षाका कारण माईजोगमाई गाउँपालिका २ शान्तिडाँडामा जमिन चर्किएर नजिकै रहेको खोलाबाट पहिरो जान थालेपछि त्यहाँ रहेका करिब ९ घर जोखिममा परेका छन् ।
स्थानीय मदन थामी, बलबहादुर थामी र चन्द्र थामीको गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । अन्य गंगा बहादुर महत, कमल बहादुर थामी, लेखनाथ थामी, दिपक थामी, विर बहादुर महत, सोम बहादुर थामी लगायतको घर जोखीममा रहेका छन् । गाउँपालिकाले वडा नं। २ का अध्यक्ष डम्बुर सुवेदीलाई उक्त क्षेत्रको अवस्था बुझन पठाएको छ ।
वडा नं। ५ मा तीन परिवार विस्थापित भएका छन् । गाउँपालिका उपाध्यक्ष प्रविना राईका अनुसार कार्यपालिका बैठक बसी पहिरोबाट बिस्थापितलाई राहत वितरण सुरु गरिएको छ ।
यस्तै मेची राजमार्गको माइृखोला राजदुवाली सडक खण्ड जिर्ण बनेको छ । दबिएको सडकमा कतिबेला पहिरो झर्ने टुंगो नभएको यातायत ब्यवसायीको भनाई छ । मेची राजमार्गको इलाम खण्डमा यातायत सूचारु भए पनि माईखोला पुल सहित पुल माथीको सडक जोखीममा परेको छ । जिल्लाका अधिकांश ग्रामिण सडक बाढी पहिरोका कारण क्षतीग्रस्त बनेका छन । दशैंको मुखमा पहिरोले सडकमा क्षती गरेपछि सामान ढुवानी र आउजाउमा समेत समस्या पर्न थालेको छ । स्थानीय पालिकाले पहिरो पन्छाएर सडक खुलाउने काम भने गरिरहेका छन् ।