फिनल्याण्ड, ७ भदौ । साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ ।
सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैरकानूनीरूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आक्षेप लागेपछि गराएको प्रयोगशाला परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो ।
प्रधानमन्त्री मारिनको पिसाबको नमूनामा कोकिन, एम्फेटामाइन्स, भाङ र ओपिओइड्सजस्ता लागूऔषधको उपस्थिति रहे/नरहेको निक्र्यौल गर्न परीक्षण गरिएको थियो ।
आफूले केही मदिरा सेवन गरेको तर कुनै किसिमका लागूपदार्थ सेवन नगरेको प्रधानमन्त्री मरिनले शुक्रबार आफ्नो निवासमा पत्रकारहरूलाई बताएकी थिइन् ।