Logo

फिफा वरियतामा बलियो प्रतिद्वन्द्वी ताइपेइसँग नेपाल आज भिड्दै



काठमाडौं, १६ मंसिर । त्रिदेशीय अन्तरराष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आज चिनियाँ ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ। खेल स्थानीय समयअनुसार साँझ ७:३० बजे हुनेछ।

फिफा वरियतामा नेपालको भन्दा धेरै माथि रहेको चिनियाँ ताइपेइ ४२औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा छ। महिला फुटबलमा लामो इतिहास भएको ताइपेइले सन् १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एसियन कप उपाधि जितेको गौरव हासिल गरिसकेको छ।

यसैबीच, सन् १९८६ देखि अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएको नेपालको महिला टोली एसियन कपसम्म पुगे पनि समूह चरणमै यात्रा टुङ्गिएको थियो।

मुख्य प्रशिक्षक नवीन न्यौपानेले ताइपेइ बलियो टोली भए पनि राम्रो प्रदर्शनसहित जित निकाल्ने विश्वास व्यक्त गरे। उनले इन्डोनेसियाविरुद्ध फिनिसिङ कमजोर भए पनि आजको खेलमा सुधारिएको खेल देखाउने उल्लेख गरे।

उनका अनुसार, साफ च्याम्पियनसिपको तयारी अन्तर्गत केही ‘इन्जुड’ खेलाडीलाई आराम दिइने र नयाँ खेलाडीलाई अवसर दिइनेछ। आवश्यक परे सबै खेलाडीलाई मैदानमा उतार्न सकिने उनले बताए।

कप्तान एन्जिला तुम्बापो सुब्बाले टोली मानसिक र शारीरिक रूपमा पूर्ण रूपमा तयार रहेको बताइन्। “हामी शतप्रतिशत दिँदै राम्रो प्रदर्शन गर्नेछौँ,” उनले भनिन्।

नेपाल यसअघिको पहिलो खेलमा इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो। चिनियाँ ताइपेइले भने सोही इन्डोनेसियामाथि ५–० को फराकिलो जित निकाल्दै उत्कृष्ट सुरुवात गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्