काठमाडौं, १३ माघ । मध्य मेक्सिकोको गुआनाजुआटो राज्यस्थित सालामान्का सहरमा फुटबल खेल समाप्त भएसँगै सशस्त्र बन्दुकधारीहरूले दर्शकमाथि गोली चलाउँदा ११ जनाको ज्यान गएको छ र दर्जनौँ घाइते भएका छन्। घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारका क्रममा अस्पतालमा निधन भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।
मेयर सेजर प्रिटोले हिंसाका लागि सङ्गठित अपराध समूहलाई दोषी ठहर गर्दै राष्ट्रिय सरकारसँग सुरक्षा व्यवस्था कडा बनाउन आग्रह गरेका छन्। पछिल्ला दिनहरूमा क्षेत्रमा मानव अवशेष फेला पर्ने र अन्य समुदायमा पनि हत्या भएका घटनाले स्थानीयवासीमा त्रास बढेको छ।







