Logo

फेब्रुअरीमा ७३ हजारभन्दा धेरै पर्यटक नेपाल आए



काठमाडौँ, १७ फागुन । गएको एक महिनामा ७३ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।

गएको फेब्रुअरी महिनामा ७३ हजार दुई सय ५५ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

कोरोना महामारी सुरु भएपछिका दुई वर्ष सन् २०२१ र २०२२ मा घटेको पर्यटक सङ्ख्या यस वर्ष बढेको हो । यसअघि सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ जना र २०२१ को फेब्रुअरीमा नौ हजार एक सय ४६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए । कोरोना महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ को फेब्रुअरीमा एक लाख दुई हजार चार सय २३ जना पर्यटक नेपाल आएका थिए ।

फेब्रुअरीमा पर्यटकको सङ्ख्या बढेसँगै २०२३ को दुई महिनाको अवधिमा नेपाल भ्रमणमा आएका पर्यटकको सङ्ख्या एक लाख २८ हजार तीन सय २९ जना पुगेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्