काठमाडौँ, ७ भदौ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफ्नो दल र नेकपा एकीकृत समाजवादीबीच विचार र कार्यदिशामा समानता रहेको बताएका छन् ।
विचार मिलेकै कारण आसन्न ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा साझा घोषणापत्र बनाउने सहमति दुई दलबीच भएको उनले बताए । यस्तै एकता संयोजन समिति बनाउने र निर्वाचनपछि पार्टी एकता हुने सहमति आफूहरुबीच भइसकेको उनको भनाइ थियो ।
‘माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा विचारको समानता छ । राजनीतिक कार्यदिशामा पनि एकरूपता छ । केही समय अगाडिसम्म हामी एउटै पार्टी नेकपामा सँगै थियौं,’ मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग पुनले भने, ‘परिस्थितिले हामी अलग भएका छौं । तर फेरि पनि हामी वामशक्तिहरु एक ठाउँमा आउनुपर्छ । यसमा सबभन्दा राजनीति मिल्नेहरु भनेको माओवादी र समाजवादी नै हो ।’
पुनले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग पनि एउटै घोषणापत्र बनाएर चुनावमा जानेबारे छलफल चलेको जानकारी दिए । ‘बाबुराम भट्टराईजी र वामदेव गौतमजीसँग पनि कुरा भइरहेको छ’, पुनले भने, ‘सकेसम्म एउटै घोषापत्र बनाएर जाने कुरा भइहरको छ ।’
राजनीतिक स्थायित्व, संविधानको रक्षा र संविधानमा उल्लेख जनताका अधिकार कार्यान्वयनका लागि वर्तमान सत्ता गठबन्धन बनेको चर्चा गर्दै उनले ती विषय पनि आफूहरुको साझा चुनावी एजेन्डा भएको उल्लेख गरे ।







