
काठमाडौँ, २ असार । पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।
आइओसीले पठाएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ तीन पैसा र हवाई इन्धनमा प्रतिलिटर रु ९१ रुपैयाँ ९१ पैसा बढेको छ । नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन (आन्तरिक)मा दुई रुपैयाँ ७० पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ १४ पैसा घाटा छ ।
खरिद मूल्य बढेसँगै आगामी १५ दिनमा करिब रु चार अर्ब ७१ करोड घाटा हुने निगमको प्रक्षेपण छ । हवाई इन्धन (बाह्य) र मट्टितेलमा सामान्य नाफा रहेको निगमले जनाएको छ ।
नयाँ खरिदमूल्यमा विभिन्न शीर्षकको कर थप्दा पेट्रोलको खरिद लागत प्रतिलिटर २०९ रुपैयाँ २८ पैसा, डिजेलको २०२ रुपैयाँ १६ पैसा, मट्टितेलको १४७ रुपैयाँ ९९ पैसा, हवाई इन्धन (आन्तरिक)को १६८ रुपैयाँ ७० पैसा, हवाई इन्धन (बाह्य)को प्रतिलिटर १४७ रुपैयाँ ८९ पैसा र एलपी ग्यासको प्रतिसिलिण्डर दुई हजार ५५१ रुपैयाँ १५ पैसा पुगेको छ ।







