Logo

फोनिज धनकुटाद्वारा आठ लाखको अक्षयकोष स्थापना



धनकुटा,१० भदौ । नेपाल आदिवासी पत्रकार महासङ्घ (फोनिज) धनकुटा शाखाले रु आठ लाख बराबरको दुईवटा अक्षयकोष स्थापना गरेको छ । शाखाले यसअघि विविध कारणले थाँती रहेको स्थापना दिवसलाई पुनः मनाउने क्रममा आज धनकुटा नगरपालिका–१० को पर्यटकीय क्षेत्र उत्तरपानीमा एक समारोह गरेर कोषको सार्वजनिक गरेको छ ।

शाखाले रु पाँच लाख बराबरको आदिवासी, जनजाति क्रियाशील पत्रकारिता पुरस्कार र यसअघि असामयिक निधन भएका शाखाका सचिवको सम्झनामा रु तीन लाख बराबरको स्व पूर्णकुमार चौधरी स्मृति अक्षयकोष स्थापना गरेको हो ।

क्रियाशील पत्रकारिता पुरस्कार शाखाको क्रियाशिलतामा आर्थिक सङ्कलन गरेर स्थापना गरिएको हो । चौधरी स्मृति अक्षयकोष फोनिजको नेपालभरिका ६० वटा शाखा, सात प्रदेशस्तरीय शाखा र आठवटा वैदेशिक शाखाको सहयोगमा स्थापना गरिएको केन्द्रीय सदस्य बिदुर खवासले जानकारी दिए ।

क्रियाशील पत्रकारिता कोषबाट हरेक तीन वर्षमा एकपटक केही समय क्रियाशील आदिवासी जनजाति पत्रकार र आगामी दिनमा समग्र पत्रकारलाई पुरस्कृत गरिनेछ ।

त्यस्तै चौधरी स्मृति कोषबाट स्व चौधरीका नाबालक एक छोरा र एक छोरीलाई वार्षिकरूपमा अध्ययन खर्च सहयोग गर्ने फोनिज धनकुटा शाखाका अध्यक्ष बिनु चेम्जोङले जानकारी दिए ।

दुवै अक्षयकोषको सार्वजनिक पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ, आदिवासी जनजाति महासङ्घ धनकुटाका अध्यक्ष सञ्जय सन्तोषी राई र फोनिज प्रदेश शाखाका अध्यक्ष सन्तवीर लामाले सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्