Logo

फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोके सरह हो: साह



काठमाडौँ, २६ साउन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोक्नु जस्तै भएको बताएका छन् ।

काठमाडौँ महानगरपालिकाको बिहीवार बसेको कार्यपालिका बैठकमा मेयर साहले फोहर व्यवस्थापन अति आवश्यक सेवा भएकाले फोहरको गाडी रोक्नु भनेको एम्बुलेन्स रोके सरह नै हुने बताएका हुन् ।

उनले फोहर बोकेका गाडी तोडफोड गर्ने तथा फोहोर फाल्न नदिनेलाई कारबाही गरिने पनि बताए । कारबाही नभएमा अराजकता फैलिने मेयर साहको भनाइ छ ।

सरकारसँग भएको सहमतिअनुसार माग पूरा नभएको भन्दै सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले भदौ १ गतेदेखि फोहर फाल्न नदिने चेतावनी दिएका छन् । यसै सन्दर्भमा मेयर साहले फोहरबाट दुर्गन्धित नफैलियोस् भनेर सम्झौता भएअनुसार काठमाडौँ महानगरपालिकाले आफ्नो काम गर्दै आएको पनि बताए । पोस्ट क्लोजर (फोहर फासिलसकेपछि गर्ने व्यवस्थापन) र बाटो मर्मतका लागि बर्खाको समय भएकाले अलि समस्या देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्