Logo

फोहर बोकेका गाडीलाई अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौँ, २ साउन । फोहर बोकेका गाडीलाई अवरोध नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

फोहर बोकेर बञ्चरेडाँडा जाने ठूला गाडीलाई १ हजार ५ सय र साना गाडीलाई एक हजार रुपैयाँ लिने नुवाकोटको ककनी गाउँपालिकाको निर्णय विरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

फोहर बोकेका गाडीलाई १५ सय रुपैयाँसम्म लिने गाउँपालिकाको निर्णय विरुद्ध फोहरमैला व्यवस्थापन सङ्घले दिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले हिजो यस्तो आदेश दिएको अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

सङ्घले ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय मामिला, वन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाइ रिट दर्ता गरेको थियो । तर, नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीय बासिन्दाले भने आफ्ना माग सम्बोधन नभएसम्म फोहर लैजान नदिने अडान राखेका छन् । आज पनि काठमाडौँबाट फोहर बोकेका गाडी ल्याण्डफिल्ड साइट जान सकेका छैनन् । हिजो फोहर बोकेर गाडी बीच बाटोबाटै फर्किएका थिए ।

आज फोहर बोकेका कुनै पनि गाडी नगएको नुवाकोटको ककनी गाउँपालिका-३ का वडाअध्यक्ष घननाथ बजगाईँले जानकारी दिए । बञ्चरेडाँडा नुवाकोट र धादिङको सिमानामा पर्छ । फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै फोहर फाल्न रोकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्