काठमाडौँ , ३० मङ्सिर । काठमाडौँ महानगरपालिकाले काठमाडौँको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको बताएको छ ।
महानगरले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए फोहोरको समस्या समाधान नै नहुने हो कि भन्नेकुरा गलत रहेको बताएको हो ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले फोहोर व्यवस्थापनका लागि महानगर आफैँ सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनै पनि फोहोरजन्य चिजबाट समस्या नहुने गरी विभिन्न क्लस्टरहरु निर्माण गरिसकेको दाबी गरेका हुन् ।
उनले भने, ‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि नेपवेस्ट भन्ने संस्थाका लागि पहिला नेपाल सरकारले लगानी बोर्डमा पास गरेर पठायो । तर, त्यसमा अधुरा कुराहरु भएको कारणले लगानी बोर्डले निर्णय गर्न सकेन । अझै अधुरै नीति नियम भएकाले फेरि यसलाई काठमाडौँ ले नेपाल सरकारतिर नै लगिएको अवस्था छ । त्यसकारणले गर्दा बञ्चरे डाँडामा रहेका यी समस्याको समाधान नहोला भन्ने कुरा होइनन् । हामी आफैँ पनि सक्षम भएको कारणले बञ्चरेडाँडामा कुनै पनि फोहोरजन्य चिजबाट समस्या नहुनेगरी अब हामीले विभिन्न क्लस्टरहरु निर्माण गरिसकेका छौँ र फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्यूनीकरण गर्नेतिर हामी अघि बढिसकेको अवस्था छ ।’
उनले फोहोरजन्य चिजलाई दीर्घकालीन रुपमा न्यूनीकरण गर्नेतिर महानगरले काम गरिरहेको बताए । यसअघि मेयर बालेन्द्र साहले २९ औँ महानगर दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा आफ्नो कार्यकाल सकिन अझै साढे तीन वर्ष बाँकी रहेको र यो अवधिमा दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गरिसक्ने दाबी गरेका थिए ।






