काठमाडौँ, ६ भदौ । सभामुख अग्निप्रसाद सापकोटासित नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाली संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
आइतबार सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा भेटवार्ता गरिएको हो । भेटमा नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध एवं आपसी हितका विषयमा छलफल भएको थियो ।
सभामुख सापकोटाले नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४८ वर्षमा दुई देशका जनता र सरकारकाबीच सुमधुर सम्बन्ध रहेको बताए ।
उनले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको चर्चा गरे । नेपाली कामदारको कोरियामा प्रशंसा भएकामा खुसी समेत व्यक्त गरेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
उनले दक्षिण कोरियाले फोहोर व्यवस्थापनका क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल भएको उल्लेख गरे । राजधानी काठमाडौँको फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा रहेको पनि उनले बताए । “फोहोरमैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल सावित गरेको छ । अन्य सहरमा पनि सहयोगको कुरा छ, काठमाडौँको फोहोरमैला व्यवस्थापनमा कोरियाली सहयोगको अपेक्षा गरेका छौँ,” सभामुख सापकोटाको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।







