Logo

फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन: पर्यटनमन्त्री



काठमाडौँ, १२ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्राविधिक समस्या देखिएको ‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको भन्ने कुरा अहिलेसम्म पुष्टि नभएको बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए राति उडेलगत्तै फ्लाई दुबईको जहाजबाट ठूलो आवाजसहित आगोको झिल्का देखिएको थियो । पर्यटनमन्त्री किरातीले भने- “जहाजमा चरा ठोक्किएको कुरा अहिलेसम्म प्रमाणित नभएको सबैमा स्पष्ट गर्दछु ।”

विमान चालकले फ्लाई दुबईको जहाज धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाइ ‘होल्ड’ गरेर विमानको सबै इन्डिकेटरको चेकजाँच गरेपछि थप समस्या नदेखिएकाले उडानलाई निरन्तरता दिने निर्णय लिएका थिए । विमानस्थलको टावरका एटिसीले पनि उक्त जहाजलाई गन्तव्यतर्फ उड्न अनुमति दिएका थिए । प्राविधिक समस्या देखिएको उक्त जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको फ्लाई दुबईले जनाएको छ ।

यसैबीच, नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति काठमाडौँबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जहाजमा चरा ठोक्किएको अहिलेसम्म पुष्टि नभएको बताए । “विमानस्थलमा निरीक्षणका क्रममा यसको पुष्टि हुन सकेको छैन”, उनले भने । यसअघि फ्लाई दुबईले जहाजमा सम्भावित रुपमा चरा ठोक्किएको हुन सक्ने भन्दै ट्विट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्