काठमाडौँ, १२ वैशाख । काठमाडौँको आकाशमा फ्लाई दुबईको विमान दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन विमानस्थलबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएपछि आकाशमै आगोको झिल्का देखिएको विमान दुर्घटना हुनबाट जोगिएको हो ।
विमानमा विस्फोटको आवाज आएपछि केही बेर धादिङको आकाशमै होल्ड भएर विमान गन्तव्यतर्फ लागेको हो । त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफडिबी ५७६ भएको विमान उडेको केही बेरमै समस्याग्रस्त बनेको भए पनि विमानमा कुनै क्षति भएन ।
असामान्य अवस्थाको विमानले आकाशमा केहीवेर फन्को लगाएको थियो । पाइलटले विमानलाई उडान नियमित गर्न सकिने भनेर विमानस्थलको टावरसँग अनुमति मागेपछि अनुमति दिइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।
विमानलाई फोर्स ल्यान्ड गराउने तयारी भए पनि सुरक्षित रहेको जनाएपछि उडान अनुमति दिइएको थियो । उनका अनुसार सम्भावित दुर्घटनालाई ध्यान दिँदै विमानस्थलमा सुरक्षाका आवश्यक सबै तयारी अपनाइएको भए पनि आकस्मिक अवतरण भने गर्नुपरेन ।
विमानमा आगो देखिएपछि केही समय काठमाडौं उपत्यकामा कोलाहल मच्चिएको थियो । प्राविधिक समस्या देखिएको सो विमानमा १२० विदेशी र ४९ जना नेपाली गरी १६९ जना यात्रु रहेका थिए । काठमाडौंको आकाशमा आगोको झिल्का देखिएपछि सबैतिर चासो बढेको थियो ।
काठमाडौँ टावरका एटिसीलाई खबर दिएपछि ९ः२१ मा बन्द भएको विमानस्थलको धावनमार्ग १०ः१ मा खोलिएको थियो । विमानस्थलका एक अधिकारीका अनुसार आगो नियन्त्रण गर्न विमानस्थलमा ५ वटा वारुणयन्त्र तयारी अवस्थामा राखिएका थिए । फ्लाई दुबईले उड्ने क्रममा चरासँग ठोक्किएर आगोको झिल्का देखिए पनि विमान सुरक्षित तवरले गन्तव्यतर्फ उडिरहेको जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।