काठमाडौं, २५ पुष । अमेरिकाको फ्लोरिडा राज्यमा नाबालिगसँग अनुचित सम्बन्ध राखेको आरोपमा ४३ वर्षीया एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। घटनाको खुलासा परिवारकै सदस्यबाट भएको प्रारम्भिक सूचनापछि भएको हो।
अमेरिकी सञ्चारमाध्यमका अनुसार पक्राउ परेकी महिलाको नाम मेरी इबारा हो। उनीविरुद्ध १६ वर्षीय किशोरसँग गैरकानुनी यौन सम्बन्ध राखेको अभियोगमा अनुसन्धान भइरहेको छ।
घटना गत डिसेम्बरमा सार्वजनिक भएको थियो। किशोरकी आमाले छोराको मोबाइल फोन जाँच गर्दा केही आपत्तिजनक भिडियो फेला पारेकी थिइन्, जसमा चिनजानकै एक महिला देखिएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो।
प्रहरी अनुसन्धानका क्रममा मोबाइलमा थप भिडियोहरू भेटिएका छन्। ती भिडियोमध्ये सबैभन्दा पुरानो सामग्री डिसेम्बर ४ को रातको भएको जनाइएको छ। किशोरले पनि भिडियोमा देखिएको व्यक्ति आफू नै भएको पुष्टि गरेपछि अनुसन्धान अघि बढाइएको थियो।
प्रहरीले सोधपुछका लागि बोलाउँदा इबाराले आरोप अस्वीकार गर्दै बयान दिन असहयोगी व्यवहार देखाएको जनाइएको छ। त्यसपछि उनलाई जनवरी ५ मा औपचारिक रूपमा नियन्त्रणमा लिइएको हो।
हाल उनीविरुद्ध नाबालिग शोषणसम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको छ भने अदालतबाट थप आदेशको प्रतीक्षा भइरहेको छ।







