काठमाडौँ, ४ साउन । बंगलादेशमा जारी विद्यार्थी आन्दोलन झनै चर्किएको छ । सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुगेको बीबीसीले जनाएको छ । यस्तै, आन्दोलनमा सयौं घाइते भएका छन् ।
प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रको नाममा सम्बोधन गरेपछि हिंसा झन् भड्किएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीहरुले राजधानी ढाकासहित कयौं स्थानहरुमा आगजनी र तोडफोड गरेका छन् । ठाउँ–ठाउँमा प्रहरीसँग झडप भएको छ ।
सन् १९७१ मा पाकिस्तानसँग भिन्न हुने समयको युद्धमा सरिक परिवारका सदस्यका लागि कोटा निर्धारण गरिएपछि यसले योग्य व्यक्ति अन्यायमा परेको भन्दै विरोध प्रदर्शन भएको हो । प्रदर्शन सरकारको नियन्त्रण बाहिर गइसकेको छ ।
आन्दोलनका कारण राजधानी ढाकामा इन्टरनेट सेवा लगभग पूर्ण रुपमा बन्द गरिएको छ भने टेलिफोन लाइनहरु पनि बन्द छन् । हजारौं प्रदर्शनकारीहरुले बिहीवार साँझ सरकारी टेलिभिजन बीटीभीको कार्यालयमा प्रवेश गरेर आक्रमण गरेको बीबीसीले जनाएको छ ।





