Logo

बंगलादेशमा आन्दोलन चर्किएपछि ८०० नेपाली विद्यार्थी स्वदेश फर्किए , आज थप १७ फर्कदै



काठमाडौं, ६ साउन । बंगलादेशमा जारी तनावका कारण करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्।

परराष्ट्र मन्त्रालयले शनिबार राति यसबारे जानकारी गराएको हो। उनीहरु हवाइ र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो।

‘हालसम्म झण्डै ८०० नेपाली विद्यार्थीले हवाई तथा स्थलमार्ग हुँदै बंगलादेश छाडेका छन्’ मन्त्रालयको भनाइ छ, ’ढाकास्थित नेपाली दूतावासले अधिकांश विद्यार्थीहरूसँग बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल तथा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरेको छ।’

दूतावासले बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानून प्रवर्तन एजेन्सीहरूसँग समन्वय गर्दै आएको पनि मन्त्रालयको भनाइ छ। नेपाल सरकार सबै नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ।

आज १७ जना विद्यार्थी स्वदेश फर्कदै

प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने वताउनु भएको छ ।

प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनिएको छ, ‘बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन्। ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो। परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ।’

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गर्नुभएको छ ।

बङ्गलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन्। करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्