भारत, २५ कात्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अष्ट्रेलियालाई ३ सय ७ रनको लक्ष्य दिएको छ ।
पुनेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन बनायो । उसका लागि ताहिद ह्रोदीले ७४ तथा नजमुल होसाइन शान्तोले ४५ रन बनाएका हुन् ।
बलिङतर्फ अष्ट्रेलियाका सीन अबोट र एडम जाम्पाले २-२ विकेट लिए । अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । उसले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएको छ ।
यो खेलको नतिजाले अष्ट्रेलियालाई कुनै फरक पर्ने छैन । तर बंगलादेशका लागि सन् २०२५ को च्याम्पियन्स ट्रफीमा छनौट हुन यो खेलमा जित आवश्यक छ । बंगलादेश आठौँ स्थानमा छ ।
त्यस्तै आजै भइरहेको अर्को खेलमा पाकिस्तानसँग इंग्ल्याण्डले पहिले ब्याटिङ गरिरहेको छ । कोलकातामा इंग्ल्याण्डले टस जितेर ब्याटिङ गरिरहेको छ ।
पाकिस्तानलाई सेमिफाइनलमा पुग्न ठूलो अन्तरको जित आवश्यक छ । जुन असम्भव जस्तै देखिन्छ । अंक तालिकामा सातौँ स्थानमा रहेको इंग्ल्यान्ड सेमिफाइनल होडबाट बाहिरिसकेको छ ।