काठमाडौं, २२ कार्तिक । तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा अफगानिस्तानले बंगलादेशविरुद्ध १–० को अग्रता बनाएको छ।
शारजाह क्रिकेट स्टेडियम युएईमा बुधबार सम्पन्न खेलमा अफगानिस्तानले ९२ रनको विजयी हासिल गर्दै तीन खेलको श्रृंखलामा १–० को अग्रता बनाएको हो।
अफगानिस्तानले दिएको २३६ रनको लक्ष्य पछाएको बंगलादेशले ३४.३ ओभरमा सबै विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो।
बंगलादेशको ब्याटिङतर्फ कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ४७ रन बनाए। यस्तै, सौम्य सरकार ३३, मेहदी हसन मिराजले २८ रन बाहे अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
यता, बंगलादेशलाई कम स्कोरमा रोक्न अफगानिस्तानको लागि एम गजन्फरले ६.३ ओभरमा एक मेडन ओभरसहित २६ रन खर्चिएर ६ विकेट हात पारे। राशिद खान दुई तथा मोहम्मद नाबी र जमातुल्लाह उमराजाईले समान एक एक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.४ ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो।
अफगानिस्तानको लागि ब्याटिङतर्फ मोहमद नाबीले ८४ रनको सानदार अर्धशतकीय पारी खेलेका थिए। कप्तान हसमतुल्लाह शाहिदी ५२ रन बनाउँदा गुलबदिन नाबी २२, सादिकुल्लाह अटलले २१ रन बनाए। यस्तै नङ्गेलिया खरोटे २७ रनमा अविजित रहे।
बलिङतर्फ बंगलादेशको लागि तस्किन अहमद र मुस्ताफिजुर रहमानले समान चार चार विकेट हात पारे।
अब यी दुई टोलीबीचको दोस्रो खेल आगामी ९ नोभेम्बरमा हुनेछ।