सिन्धुपाल्चोक, ७ वैशाख । वैशाख २५ बाट सुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्ची बगरमा खेलमैदान तयार गर्न आयोजक व्यस्त छन । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।
मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । व्यक्तिगत लगानीमा ठुलो धनराशिको पुरस्कारसहित खेलाडीलाई खाना र बासको समेत व्यवस्थासहित हुन लागेको यो प्रतियोगिताका लागि मैदान भने अभाव छ । मेलम्चीमा रु १४ करोडको लागतमा निमार्णाधीन रङ्गशाला २०७८ को बाढीले बगाएको थियो । हेलम्बुका पनि खोला आसपास सबै बगर भएपछि खेल मैदानको अभाव छ ।
मेलम्ची र इन्द्रावतीमा आएको बाढीपछि जिल्लाको पश्चिमी भेगमा खेल गतिविधि बढे पनि राम्रो खेल मैदान अभावले खेल सञ्चालन गर्न असहज भएको स्थानीय सागर श्रेष्ठले बताए । अभ्यासका लागि खेल मैदान नभए पनि सिन्धुपाल्चोकका खेलाडी तयार हुने क्रम भने उत्साहजनक छ । सिन्धुपाल्चोकले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गर्ने खेलाडी जन्माएको छ । यी खेलाडीले जिल्ला र देशकै नाम उँचो बनाएका छन् । खेल जितेर फर्किंदा वाहवाही पाए पनि यी खेलाडीको सङ्घर्ष भने सहज छैन ।
क्षमता भए पनि खेलकुदका गतिविधि बढाउन अभ्यास खेलका लागि उपयुक्त मैदान नै छैनन् । स्थानीय तहले खेल क्षेत्रमा पर्याप्त बजेट नै विनियोजन गर्नुपर्ने स्थानीय खेलाडी माइते तामाङले बताए । जिल्लामा जुनसुकै खेलकुद प्रतियोगिता गर्न कुनै चाडपर्व वा मेला कुर्नुपर्ने र भइहाले पनि कहाँ सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता आयोजकलाई भइरहन्छ । जिल्ला तथा प्रदेशस्तरका खेलकुद प्रतियोगिता खेल मैदानका अभावले प्रायःजसोे विद्यालयका साँघुरा चौरमा हुने गर्छन ।
जिल्लामा भलिबल, फुटबल, कराँते, क्रिकेट खेलको मोह बढ्दै गएको छ । जिल्लामा खेलप्रतिको आकर्षण धेरै छ । तर खेलका लागि पूर्वाधार अभावका कारण जिल्लामा आयोजना हुने प्रतियोगिता खुम्चिँदै गइरहेको जिल्ला भलिबल सङ्घका उपाध्यक्ष रामचन्द्र सापकोटाले बताए । खेलप्रतिको आकर्षण व्यापक भए पनि स्तरीय मैदान अभावले खेल प्रतिभा पलायन हुने स्थिति बनेको सापकोटाको भनाइ छ ।
जिल्लामा प्रतिभा धेरै भए पनि पूर्वाधार अभावमा पलायन हुने स्थिति बनेको फुटबल खेलाडी आशिष श्रेष्ठले बताए । “म जस्ता फुटबल खेलाडी धेरै तयार हुन सक्छन्”, उनले भने, “यहाँ पूर्वाधार नभएकै कारण खेल प्रभावित भएको छ ।” नगरको १३ वटै वडामा खेल मैदान निर्माण अभियान रहेकोमा केही वडामा सुरु भइसकेको र केहीमा बजेट विनियोजनको तयारीमा रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए ।
त्यस्तै मेलम्चीका वडामा क्षेत्र तथा नगरस्तरको विभिन्न खेल सञ्चालन गर्न सकिने मैदान निर्माण गर्ने कार्यपालिकाबाट निर्णय भइसकेको उनले बताए । यसका लागि नगरको मात्र बजेटले नपुग्ने हुँदा प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिने उनको भनाइ छ ।