Logo

बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्न हात बाँधिएको छ: डंगोल



फाइल तस्बिर

काठमाडौँ, १ चैत । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले पालिकालाई ऐनमा बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्नलाई हात बाँधिदिएको गुनासो गरेकी छन् ।

बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौँमा आयोजना भएको मूल समारोह कार्यक्रममा बोल्दै उपमेयर डङ्गोलले ऐनमा पालिकालाई बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्ने अधिकार खोसिदिएको गुनासो गरेकी हुन् ।

उनले बजार अनुगमनको अधिकारमात्रै नभएर कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनाउनुपर्ने बताइन् । उनले पालिकालाई कार्यान्वयन गर्न कानुन नभएकाले महानगरले अनुगमन गर्दा विभिन्न समस्या झेल्नुपरेको गुनासो गरेकी थिइन् ।

उनले भन्नि, ‘काठमाडौँ महानगरपालिकाले आफ्नो काम, कर्तव्य, अधिकार र उपमेयरको प्रमुख अधिकारमा पनि बजार अनुगमनलाई तीव्र गतिमा सञ्चालन गर्ने र बजारलाई व्यवस्थापन गर्ने जिम्मेवारी रहेको छ । यसलाई महानगरले अगाडि बढाइरहँदा विभिन्न समस्या झेलिरहेका छौँ । पालिकालाई अनुगमनको अधिकार दिएको छ तर कार्यान्वयन गर्नलाई हात बाँधिदिएको छ । आफ्नो अगाडि मिठा परिकार सजाएर राखिएको छ, खाऔँ भनेको छ तर हात बाँधिदिएको छ । कसरी खानुहोला? यसका लागि पनि आवश्यक कानुन बनाउनुपर्ने महसुस गरेका छौँ ।’

उपमेयर डंगोलले पालिकाको अधिकार क्षेत्रमा महानगरले अनुगमनलाई प्रभावकारी बनाउन ऐन संशोधन गर्ने काम र अनुगमन तीव्र गतिमा अगाडि बढाउनका निम्ति सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिरहेको बताइन् ।

उनले तीनै तहमा समन्वय गरेर सह-अस्थित्वलाई स्वीकार गर्नुपर्छ भने पनि विभिन्न काम कर्तव्यहरू दोहोरो रहेको बताइन् । दोहोरो काम कर्तव्य हुँदा पनि काम गर्न अफ्ठ्यारो भएको उनको भनाइ छ ।

उपमेयर डंगोलले बजार अनुगमन गर्दा व्यक्तिगत स्वार्थका कारण विभिन्न समस्या भोगिरहेको बताइन् । उनले व्यक्तिगत स्वार्थ राख्नेहरूले पनि आफू पनि उपभोक्ता हो भनेर सोच्न जरुरी रहेको उल्लेख गरेकी थिइन् ।

उनले महानगरमा निर्वाचित भएर आएको नौ महिनाको कार्य अनुभवमा बजार अनुगमन गर्न जाँदा व्यवसायीहरूले थाहा पाइसक्ने गरेको बताइन् ।

उनले अनुगमन गर्न जाने समितिमा बस्ने सदस्यबाहेकलाई भन्दा अरूलाई अनुगमन गर्ने विषयमा थाहा नहुनुपर्ने भए पनि अनुगमन गर्न जाने ठाउँका व्यवसायीहरूलाई कसरी थाहा हुन्छ भन्दै प्रश्न गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्