काठमाडौँ, १२ असोज । प्रधानमन्त्रीको जिम्मेबारीसमेत सम्हालेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मूल्य वृद्धि र कलोबजारी कडाइका साथ नियन्त्रण गर्ने गरी थप सक्रिय भएर बजार अनुगमन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन् ।
बजारमा अस्वभाविक रूपमा मूल्य वृद्धि भएको जनगुनासो बढेको भन्दै उनले सम्बन्धित अधिकारीसँग बजार अनुगमनको अवस्थाबारे जानकारी लिँदै उक्त निर्देशन दिएका हुन् ।
बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, निमित्त मुख्यसचिव, गृह सचिव, प्रधानमन्त्री कार्यालयका सचिव, काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, वाणिज्य विभाग, खाद्य प्रविधि गुणस्तर तथा नापतौल विभागका अधिकारीहरू सहभागी थिए ।
बैठकमा अहिलेसम्म बजार अनुगमनको समीक्षा हुनुका साथै बजार अनुगमनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।







