काठमाडौँ, २२ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार हुने गरी अघि बढिरहेको आरोप लगाएका छन् ।
महासचिव पोखरेलले गठबन्धन सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटले देशमा विद्यमान राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने बताएका हुन् ।
सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटमाथिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बजेटमा जनतामा चरम निराशा छाउने गरी सपना बाँडिएको र त्यसले मूलधारका राजनीतिक पार्टीहरूप्रति जनताको असन्तुष्टि झनै बढेर जाने खतरा रहेको तर्कसमेत गरेका छन् ।
महासचिव पोखरेलले भने, ‘बजेटमा सपना मात्रै बाँडिएको छ । त्यसले जनतामा चरम निराशा पैदा हुन्छ । राजनीतिक प्रणालीमाथि प्रहार गर्ने बाटोतर्फ गठबन्धन सरकार अगाडि बढेको छ । बजेटमा ठूलाठूला कुरा गरिएको छ । समग्रमा भन्नुहुन्छ भने यो बजेट व्यापारिक पुँजीवाद वा दलाल नोकरशाही पुँजीवादको हिमायतीको रूपमा प्रकट भएको छ ।’
महासचिव पोखरेलले राजस्व वृद्धि हुने वस्तुहरूको अति धेरै आयातका कारण आउँदो वर्ष राजस्व वृद्धि हुने कुनै आधार नभए पनि बजेटमा आर्थिक वृद्धि दर बढ्ने भनेर हावादारी कुरा उल्लेख गरिएको बताए ।