Logo

बजेटले संयुक्त सरकारको दृष्टिकोणलाई प्रतिनिधित्व गरेको छ: चौधरी



काठमाडौँ, २५ जेठ । सांसद विनोद चौधरीले बजेटले संयुक्त सरकारमा सहभागी राजनीतिक दलका दृष्टिकोणलाई प्रतिनिधित्व गरेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै आज उनले यो बजेटका आफ्नै सीमा रहेको उल्लेख गर्दै यो बजेट नेपाली कांग्रेसको एक्लो सोँचबाट मात्रै निर्देशित नभएको बताए ।

बजेटले कांग्रेसले अँगालेको ‘लिवरल इकोनोमिक पोलिसी’ र निजी क्षेत्रलाई थप अगाडि बढाउने प्रयास गरेको बताउँदै उनले साधारण खर्च घटाउन अर्थमन्त्रीले गर्नुभएको प्रयास सकारात्मक रहेको बताएका हुन् ।

बजेट आकारका हिसाबले ठूलो नभए पनि चालू आर्थिक वर्षको आम्दानी र खर्चको अवस्था हेर्दा चुनौतीपूर्ण रहेको उनको भनाइ छ । उनले पुँजीगत खर्चलाई प्रभावकारी बनाउन बजेटले केही नयाँ सोँच र दृष्टिकोणसहित ‘वर्किङ मोडालिटी’ अगाडि सारेकाले यसलाई सकारात्मक सङ्केतका रुपमा लिनुपर्ने जिकिर गरेका थिए ।

सांसद चौधरीले भने, “उत्पादन साथमा, अनुदान हातमा’, ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’, ‘अबको जीवन स्वदेशमा नै’, ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ सिँचाइमा लगानी, खेतबारीमा पानी’ जस्ता नाराहरूले बजेटको दृष्टिकोणलाई प्रष्टसँग औँल्याएको छ ।”

प्रतिक्रिया दिनुहोस्