Logo

बजेट चुनावमा भाेट माग्ने किसिमले आयो: एमाले



काठमाडौँ, १७ जेठ । नेकपा एमालेले सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट चुनावमा भोट माग्ने किसिमले आएको बताएको छ । सोमवार संसद् भवन नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको, देशको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष निकालेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली, पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा.युवराज खतिवडाले बजेटबारे सांसदहरूलाई प्रशिक्षण दिएका थिए ।

त्यसैगरी पार्टी निकट बौद्धिक व्यक्तित्वहरू राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.पुष्पराज कँडेल, योजना आयोगकै पूर्व सदस्य डा.दिनेशचन्द्र देवकोटाले पनि बजेटबारे आफ्नो धारणा राखेका थिए ।

यस्तै बैठकमा अध्यक्ष ओलीले सरकारले अनुचित ढङ्गले आउँदो आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरूलाई निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनले भने, ‘अध्यक्षले बजेट अनुचित ढङ्गले आएको, सिद्धान्तहीन र प्राथमिकताविहीन ढङ्गले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्