काठमाडौँ, २३ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट निर्माणका क्रममा इमानदार भएर काम गरेकाे बताएका छन् ।
आज बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराइ करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमानदार भएर काम गरेको बताए । उनले आउँदाे आर्थिक वर्षको बजेट बनाउन आफूले कुनै पनि प्रभावबाट मुक्त भएर पारदर्शी ढङ्गबाट काम गरेको दाबी गरेका थिए ।
उनले अर्थ मन्त्रालयका कर्मचारीकै रुपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको बताए । अर्थमन्त्रीले श्रेष्ठले ३० वर्षदेखि यही काम गर्दै आएको बताए । श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको बताएका छन् ।
उनले इमानदारिता कायम राखेकाले स्वार्स्थ समूहहरु निजी स्वार्थ भएकाहरु पछि लागेको बताए । उनले अनधिकृत व्यक्ति छिराएर करका दर हेरफेर गर्न पर्यो भन्ने भाष्य बनाएर नियोजित रुपमा गर्दा त्यो नै सत्य हुने ? भन्दै प्रश्न गरेका थिए ।
उनले जिम्मेवारी लिएर कसम खाएर संसद्को रोष्टममा उभिएर जवाफ दिएको भन्दै आफ्नो इमानदारितामाथि शङ्का नगर्न आग्रह गरेका छन् ।
त्यस्तै, अर्थमन्त्री डा.महतले करको दर हेरफेरबारे आफूहरुले नै निर्णय गरेको बताए । उले निर्णय भएको इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको स्वीकार गरेका हुन् ।
उनले करको दर हेरफेरबारे आफूसहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेको दाबी गरेका छन् । उनले निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा इन्टर गर्ने काम मात्र भएको बताए ।







