Logo

बजेट निर्माणमा अधिकार प्रयाेग नगरेका कारण सरकारले हामीलाई हेप्छ: थापा



काठमाडौँ, २८ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बजेट कार्यान्वयनका लागि कानुन निर्माण गरेरमात्रै अघि बढ्ने प्रणालीको विकास गर्न सकेमात्रै यसको कार्यान्वयन सुनिश्चित हुने उनको भनाइ थियो ।

आइतवार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलमा महामन्त्री थापाले बजेट निर्माणमा आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदहरूलाई हेप्ने गरेको गुनासोसमेत गरेका थिए ।

संसद् प्रणालीमा सरकारसँग बहुमत हुने भएकाले सरकारले पेलेरै बजेट पारित गराउने र कार्यान्वयनको सुनिश्चित नहुने अवस्था भएकाले त्यसको अन्त्य हुने गरी अघि बढ्नुपर्ने उनले बताए ।

उनले भने, ‘बजेट ल्याएपछि सरकारसँग बहुमत छ । जस्ताको तस्तै पास हुन्छ । डराउनै परेन । बजेट पनि अर्थ मन्त्रालयले लिएर आउँछ । यसको समीक्षा पनि अर्थ मन्त्रालयले लिएर आउँछ । अनि हामीहरूसँग सीमित ज्ञान हुन्छ । सीमित सूचना हुन्छ । यसको आधारमा यहाँ आएर बोल्दा कुण्ठा पोख्छौँ । गाली गर्छौँ । तर तथ्य, तथ्याङ्कले गर्दा समात्नुपर्ने ठाउँमा समात्दैनौँ । बजेट निर्माणमा हामी सांसदहरूले व्यापक ढङ्गले काम गरेको नदेखेको हुनाले नागरिकले हामीसँग मन्दिरमा गजुरका लागि पैसा माग्छन् । इनार खन्न पैसा माग्छन् । किनभने संसदमा हामीले टेबलमात्रै ठोकेको देखिरहेका हुन्छन् । हुन्छ, हुन्न भनेको मात्रै देखिरहेका हुन्छन् । अर्थ मन्त्रालय वा सरकार हामीसँग डराइराखेको देखिरहेको हुँदैन । स्रोत के मा खर्च गर्ने, कसरी खर्च गर्ने रु यावत् कानुन बनाउने अधिकार हामीसँग छ । त्यो अधिकारको हामीले प्रयोग गरिरहेका छैनौँ । त्यो अधिकारको प्रयोग नगरेको हुनाले सरकारले हामीलाई हेप्छ । जे गरे पनि हुन्छ भन्छ । किनभने संसद प्रणालीमा सरकारसँग जहिले पनि बहुमत हुन्छ । र हामीकहाँ क्रस पार्टी काम गर्ने प्रचलन पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्