काठमाडौँ, ३१ जेठ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झुटो र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन् ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले राजीनामा माग गरिरहेका बेला अर्थमन्त्री शर्माले यस्तो स्पष्टीकरण दिएका हुन् ।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा समय माग गरेर बोल्दै उनले बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिवको नेतृत्वमा टिम परिचालन हुने र उनीहरूले तयार गरेको बजेटमा अर्थमन्त्रीको हैसियतमा आफूले सरकारको नीति तथा भिजन मात्रै दिने अधिकार भएको र त्यहीअनुसार काम गरिएको बताए ।
अर्थमन्त्री शर्माले कार्य सम्पादन नियमावलीले आफूलाई बजेट निर्माण गर्नका लागि अधिकार दिएको र त्यही अधिकार मात्रै आफूले प्रयोग गरेको पनि पटक-पटक दोहोर्याएका छन् । सरोकारवालाहरूको सुझाव, सम्बन्धित मन्त्रालयले पठाएको कार्यक्रम र योजनाहरूकै आधारमा अर्थ मन्त्रालयको पदाधिकारीले बजेट बनाउने विधि र प्रक्रिया रही आएको अर्थमन्त्री शर्माको भनाइ थियो ।
उनले भने, ‘अर्थमन्त्रीले सरकारको नीति र भिजनलाई नीतिगत रूपमा निर्देशन दिने, त्यस आधारमा बजेट तयार हुने परम्परा रहेको र अहिले पनि त्यसरी नै बजेट तयार भएको म स्पष्ट गर्न चाहन्छु । बजेट बनाउँदा राजस्वको दरहरू गर्न कुनै मान्छे रातको १२ बजे आएर चलखेल गर्यो भन्ने सन्दर्भमा जुन विषय उठेको छ । त्यो अत्यन्त भ्रामक, कपोकल्पित एउटा झुटा कथा बनाइएको छ । यसको म खण्डन गर्न चाहन्छु । मन्त्रालयका सचिवज्यूहरूको नेतृत्वमा, राजस्व सचिवको नेतृत्वमा राजस्वसम्बन्धी तयारी र अर्थ सचिवको नेतृत्वमा अर्थसम्बन्धी तयारी दुवै तयारी पनि हुने गरी कार्य विभाजन हुने, कमिटीहरू बन्ने र ती कमिटीले नै यी कुराहरूलाई प्रक्रियागत रूपमा टुङ्ग्याउने हो । सबै काम आधिकारिक ढङ्गले भएको र अर्थमन्त्रीको हैसियतले कार्य सम्पादन नियमावलीअनुसार प्राप्त भएको जिम्मेवारीप्रति उत्तरदायी भएर बजेट बनाइएको कुरा यहाँ स्पष्ट गर्न चाहन्छु ।’