काठमाडौँ, ११ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बिजुलीको आन्तरिक खपत वृद्धि गर्ने योजनाका साथ सरकार लागिपरेको बताएका छन् ।
उनले उत्पादन वृद्धि, वितरण प्रणालीको सुधार तथा आन्तरिक खपत बढाएर बाँकी रहेको बिजुली मात्रै भारत निर्यात गर्ने सोचका साथ मन्त्रालयले काम गरिरहेको उल्लेख गरेका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नका जवाफमा मन्त्री बस्नेतले पाँचवटा प्रदेशमा निकट भविष्यमा नै पूर्ण विद्युतीकरण हुने जानकारी दिए । हालसम्म कूल ९६ प्रतिशत घरधुरीमा बिजुलीको सेवा पुगेको जानकारी दिँदै ऊर्जामन्त्री बस्नेतले हाल कूल जडित क्षमता दुई हजार सात सय ३२ मेगावाट पुगेको बताए ।
बिजुलीको मागमा घटबढ हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न फरक फरक योजनाका साथ लाग्नुपर्ने र त्यसका लागि आवश्यक व्यवस्था मिलाइएको उनको भनाइ छ । आगामी आवमा प्रणालीमा कूल नौ सय मेगावाट बराबरको बिजुली थप हुने जानकारी दिँदै उनले आगामी दुई वर्षभित्र सुक्खायाममा समेत आन्तरिक रुपमा बिजुलीमा आत्मनिर्भर हुने बताएका हुन् ।
बढी भएको बिजुली बिक्री गर्नुभन्दा अर्को विकल्प नभएको उल्लेख गर्दै उनले भने, “खपत बढाउनका लागि आवश्यक योजानका साथ काम भइरहेको छ । तर, बर्खायाममा बिजुली बिक्री गर्नैपर्ने बाध्यता छ । तर, सुक्खायाममा बिजुली आयात गर्नैपर्ने आवश्यकता छ ।”
मन्त्री बस्नेतले निजी क्षेत्रलाई पनि छिट्टै बिजुली बिक्रीका लागि अनुमति दिइने दोहोए । नदी प्रवाही आयोजना बढी भएकाले बर्खाको समयमा बढी बिजुली उत्पादन हुने र सुक्खायाममा भने कूल जडित क्षमताको एक तिहाइ मात्रै उत्पादन हुने भएकाले व्यवस्थापनका लागि नयाँ सोच जरुरी रहेको मन्त्री बस्नेतले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली बिक्रीका सम्बन्धमा दुई देशका ऊर्जा सचिवबीच सहमतिपत्रमा हस्ताक्षर भएको र छिट्टै त्यसले मूर्तता पाउने ऊर्जामन्त्री बस्नेतले जानकारी दिए । उनले यो विषय बिजुली बिक्रीको विषय मात्रै नभई उत्पादनको समेत विषय भएको उल्लेख गरेका थिए ।
उनले अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई पनि प्रमुख प्राथमिकतामा राखिएको स्पष्ट पार्दै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा न्यू बुटवल गोरखपुर प्रसारण लाइनको शिलान्याश भएको र अन्य आयोजना पनि छिट्टै अगाडि बढ्ने बताए ।





