चितवन, ३ पुस । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ ।
बजारमा माग बढ्दै गएपछि शनिवारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को तीन सय ६० रुपैयाँ तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो ।
यसअघि अण्डाको मूल्य प्रतिक्रेट तीन सय रुपैयाँमा बिक्री हुँदै आएको थियो । सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट चार सय ३५ रुपैयाँ पर्न आउँछ । उनले भने, `पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो ३० रुपैयाँ हुँदा अण्डा प्रतिक्रेट तीन सय रुपैयाँमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो ६५ रुपैयाँ पर्दा अण्डाको मूल्य उस्तै छ ।´
औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उनको भनाइ छ । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट चार सय पाँच रुपैयाँ पुगेर एकोहोरो ओरालो लागेको हो । त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा १६ रुपैयाँ रहेको थियो । नेपालमा अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन लागिपरेको पोेख्रेल बताउछन् ।






