Logo

बढ्यो पर्यटकीय गतिविधि



काठमाडौँ, ३० भदौ । कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ । सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन् ।

वर्षायाममा नेपाल आउने पर्यटक तुलनात्मक रूपमा कम हुने भए पनि यस वर्षको अगस्टमा मात्रै ४१ हजार ३०४ जना पर्यटक नेपाल भित्रिएको देखिन्छ । सन् २०२० को अगस्टमा जम्मा २५६ पर्यटक नेपाल भित्रिएकामा सन् २०२१ को सोही समयमा पाँच हजार ९१७ जना विदेशी नेपाल भित्रिएका थिए । सन् २०१९ को अगस्टको तुलनामा यो वर्षको अगस्टमा पर्यटक आगमनमा ५६ प्रतिशत सुधार भएको छ ।

सन् २०१९ को अगस्टमा ७३ हजार ८१४ पर्यटक नेपाल आएका थिए । बर्सातको मौसम भएकै कारण अघिल्लो महिनाको तुलनामा भने पर्यटक आगमन सङ्ख्या केही खुम्चिएको छ । यस वर्षको जुलाईमा ४४ हजार ४६२ पर्यटक नेपाल आएका थिए ।

कोभिडभन्दा अघि सन् २०१९ को जुलाईमा हवाई मार्ग हुँदै ५८ हजार ८११ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२० को जुलाईमा २११ र सन् २०२१ को जुलाईमा दुई हजार ९९१ पर्यटक नेपाल आएका थिए। सेप्टेम्बर महिना पर्यटन आगमनको उपयुक्त सिजन भएकाले यस महिना पर्यटक आगमन सङ्ख्या अरू बढ्दै जाने पर्यटन बोर्डले जनाएको छ । महामारीपछि तुलनात्मक रूपमा बेसिजनमा पनि पर्यटक बढ्नुमा भारतीय पर्यटकको आगमन बढिरहेको बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले बताए । यो समाचार गोरखापत्र दैनिका छ ।

प्रतिक्रिया दिनुहोस्