झापा, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लगायत विभिन्न सात संगठनले आह्वान गरेको यातायात बन्दका कारण झापासहित अरुण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
साउन २२ गतेलाई लिम्बुवानको कालो दिनको रूपमा मनाउँदै यातायात बन्दका कारण लामो तथा छोटो दूरीका कुनै पनि सवारीका साधन सञ्चालनमा आउन नसकेको जिल्ला ट्राफिक प्रहरी झापाले जनाएको छ ।
सडकमा मोटरसाइकल, टेम्पो लगायतका सवारी साधन सञ्चालनमा रहेका छन् भने सार्वजनिक सवारीसाधन सञ्चालनमा नआउँदा यात्रु बिच बाटोमै अलपत्र परेका छन् । यातायात चल्ने आसमा विभिन्न बसपार्कमा पुगेका यात्रुहरु त्यसै फर्किएका छन्, यातायातका साधनहरु बिच बाटोमै रोकिएका छन् ।
१८३१ साल साउन २२ गते लिम्बुवानको सार्वभौमसत्ता समाप्त गरी नेपाल राज्यमा गाभिएको भन्दै साउन २२ गतेलाई हरेक वर्ष कालो भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले बन्द गर्दै आएको थियो । यो पटक भने राष्ट्रिय जनमुक्ति पार्टीसहित संघीय लिम्बुवान पार्टी नेपाल, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति, किराँत खम्बुवान राज्य परिषद, किराँत लिम्बुवान राज्य परिषद र लिम्बुवान राष्ट्रिय मोर्चाले बन्द आह्वान गरेका हुन् ।
बन्दका कारण झापासहित तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, मोरङ, सुनसरी र संखुवासभामा समेत यातायात बन्द भएका छन् ।





