Logo

बन्द आँखाले सात छोरीको लालनपालन



रामेछाप, १० भदौ । दुवै आँखा देख्न छाडेको १५ वर्ष भयो तर सात छोरीको लालनपालनको दायित्व उनकै काँधमा छ । त्यो पनि उनले करिब करिब पार लाएकी छन् । उनमा फेरि आफ्नै आँखाले संसार देख्ने धोको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका-९, पुराना गाउँकी ४० वर्षीया चमेली मगरका दुवै आँखा बन्द छन्। यस्तैमा पतिको पनि निधन भएपछि आठमध्ये सात छोरीको लालनपालन र पठनपाठनको जिम्मा उनकै काँधमा आएको हो  ।

चमेलीका आठ छोरीमध्ये जेठीको मात्र विवाह भएको छ । जुम्ल्याहा माइली र साइँली १२ कक्षामा पढ्छन् । काइँली ८ मा, ठाइँली ६ मा, अन्तरी ५ मा, जन्तरी ३ मा र कान्छी १ कक्षामा अध्ययनरत छिन्। यी सबैको जिम्मेवारीले उनलाई थिचेको छ ।

चमेलीका आँखामा सानै उमेरदेखि धमिलो देख्ने र टाढाको वस्तु नदेख्ने समस्या थियो तर १५ वर्षअघि चौथो छोरी जन्मिएपछि भने चमेलीका दुवै आँखाका ज्योति पूरै गुमे । आँखा बन्द भएपछि पनि सन्तान जन्मिने क्रम भने रोकिएन । उनका थप चार छोरी जन्मिए । चमेलीका श्रीमान् अम्बरबहादुर ठाडामगरले उपचारका लागि बुँताले भ्याएसम्म गरे। थाहा पाएसम्मका अस्पताल घुमाए । ठाउँठाउँमा सञ्चालन हुने आँखा शिविरमा पनि पु-याए​ तर काम लागेन । उनको आँखाको ज्योति फर्किएन ।

यस्तैमा चमेलीको जीवनमा अर्को बज्रपात आई लाग्यो । जीवनको सहारा पतिलाई पनि उनले गुमाइन् । श्रीमान् पनि गुमाएपछि संसार देख्ने उनको इच्छा हरायो । साना छोरीलाई कसरी हुर्काउने भन्ने चिन्ता थपियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्