काठमाडौँ, ३१ असार । सरकारले कार्यान्वयनमा ल्याएको आलाकार्ट प्रणाली लागु नगरेपछि सोमबार (साउन १) देखि नेपालमा सशुल्क विदेशी च्यानलको प्रसारण बन्द हुने भएको छ । विदेशी सिग्नल वितरक र अपरेटरलाई बारम्बार आलाकार्ट प्रणाली कार्यान्वयन गर्न औपचारिक जानकारी गराइए पनि अहिलेसम्म लागू नभएपछि त्यस्ता विदेशी च्यानल बन्द हुने अवस्था सिर्जना भएको सूचना तथा प्रसारण विभागले जनाएको छ ।
विभागले विज्ञप्ति जारी गर्दै असार २८ गतेभित्र सशुल्क विदेशी च्यानलको शुल्क र बुके उपलब्ध गराउन भने पनि त्यो प्राप्त नभएको उल्लेख गरेको छ । सरकारले २०७९ चैत १५ गते आलाकार्ट प्रणाली लागु गर्ने निर्णय गरेको थियो ।
विदेशी टेलिभिजन च्यानलसमेत हेरिरहेका उपभोक्ता वा दर्शकलाई पर्ने आर्थिक भारलाई न्यायोचित बनाउन विद्यमान शुल्क प्रणालीलाई सुधार गरी सरकारले आलाकार्ट शुल्क प्रणाली कार्यान्वयन गर्ने योजना अघि सारेको थियो ।
यो प्रणालीमा उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्न सक्ने सुविधा हुन्छ । अहिले उपभोक्ताले आफूले नहेर्ने च्यानलको पनि शुल्क तिर्दै आएका छन् ।
आलाकार्ट प्रणालीका लागि सरकारले आधारभूत प्याकेजको प्रतिमहिना २५० रुपियाँ निर्धारण गरेको थियो । त्यस्तै सशुल्क च्यानलसमेत गरी अधिकतम प्रतिमहिना पाँच सय रुपियाँ तिर्नुपर्ने गरी शुल्क निर्धारण गरिएको थियो ।
इन्टरनेट र च्यानल सुविधा उपलब्ध गराइरहेका सेवा प्रदायकका हकमा अहिले लिइरहेको शुल्कमा थप शुल्क बढाउन नपाउने व्यवस्था पनि यसमा गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।





