पर्सा, २१ साउन । पर्सामा एक महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
वैशाख २० गते गोठमा बाख्रा बाँधेर फर्किंदै गरेकी एक महिलालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज बस्ने ४० वर्षीय नेक महमद र २१ वर्षीय अफताब अन्सारी पक्राउ परेका हुन् ।
उनीहरुले ति महिलालाई बन्धक बनाई एक होटलमा लगेर मुखमा कपडाको बुझो र आँखामा कालो पट्टी बाँधेर सामूहिक बलात्कार गरेको पाइएको पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुले वैशाख २३ गते बिहान ८ बजेतिर पर्साको घडिअर्वा पोखरीको गल्लीमा ती महिलालाई रगताम्मे अवस्थामा छाडेर भागेका थिए ।
ती पीडित महिलाले आफूमाथि बलात्कार र अपहरण तथा शरीर बन्धकको जाहेरी दिएपछि अनुसन्धानका क्रममा प्रहरीले वीरगन्ज–१५ प्रतिमा चोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।