Logo

बम विस्फोटमा घाइतेलाई जिउँदै इँटाभट्टामा जलाउने कांग्रेस सांसद आलमको सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन



काठमाडौं, २ श्रावण । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री अफ्ताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको फैसला विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

जिल्ला अदालत रौतहटले आलमलाई जन्मकैदको सजाय सुनाए पनि उच्च अदालतले प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो ।

तर, महान्यायाधिवक्ताको कार्यालयले उक्त फैसलाले प्रमाणहरूलाई बेवास्ता गरेको दाबी गर्दै पुनरावलोकनको माग गरेको हो ।

प्रवक्ता सूर्यराज दाहालका अनुसार बम विस्फोट भएको, घाइतेलाई जिउँदै इँटाभट्टामा जलाइएको र जीवित साक्षीसमेत रहेको पुष्टि भए पनि उच्च अदालतले ती प्रमाणहरूलाई विचार नगरेको पुनरावेदनमा उल्लेख छ ।

मुख्य साक्षी गौरीशंकर राम चमारको बयान र उनको शरीरमा भएको चोटबारेको मेडिकल रिपोर्टले पनि घटना पुष्टि गरेको दाबी गरिएको छ ।

फैसला सुनाउने न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषद्को छानबिनमा छन् ।

अफ्ताब आलमसहित जन्मकैद सजाय पाएका अभियुक्तहरू उच्च अदालतको फैसलापछि जेलमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्