काठमाडौँ, ११ साउन । पछिल्लो सुन तस्करी प्रकरणमा झण्डै एक क्विन्टल सुन बरामद भएको भन्ने खबरले सनसनी मच्चाएपनि उक्त सुनको वास्तविक तौल कति हो भन्ने अझैँ निश्चित भइरहेको छैन ।
अधिकारीहरूका अनुसार बरामद गर्ने निकाय राजश्व अनुसन्धान विभागमा त्यसबारे धेरैले चासो राखेको पाइएको छ ।
गत साता मङ्गलवार बरामद गरिएको उक्त सुन बिहीवार राष्ट्र ब्याङ्कलाई बुझाइएको थियो । राष्ट्र ब्याङ्कको टक्सार महाशाखाको सेफमा त्यसलाई सुरक्षित राखिएको बताइएको छ ।
‘ब्रेक शू’ भनेर ल्याइएको सुनको जम्मा वजन १४५ किलो रहेको बताइएको थियो । ‘ब्रेक शू’बाट छुट्टाएर सुन पगालेपछि त्यसको तौल लिने अधिकारीहरूले बताएका थिए ।
राजश्व विभागको पत्र कुर्दै राष्ट्र ब्याङ्क
साउन २ गते मङ्गलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भई बाहिर निकालिएका बेला राजश्व अनुसन्धान विभागले त्यस्तो सुन बरामद गरेको थियो ।
सुनको तौल करिब १०० किलो भएको जनाएको विभागले त्यसको तौल लिन ४ गते बिहीवार राष्ट्र ब्याङ्कमा पठाएको हो ।
ब्याङ्कका अधिकारीहरूका अनुसार विभागले तौल लिने प्रक्रिया अघि बढाउन पत्र पठाएपछि एक हप्ताभित्र उक्त प्रक्रिया पूरा गर्न सकिने बताएका छन् ।
ब्याङ्कको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार पत्र पाएपछि नेपाली सेना, हाम्रा सुरक्षाकर्मी, मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखा, आन्तरिक लेखा परीक्षण र राजश्व विभागका प्रतिनिधिको रोहबरमा सुन राखिएको पोका खोलिने छ । र सुनलाई अलग गरेर गलाइन्छ।
त्यो सुन भए वा नभएको अथवा सुनको शुद्धता वा गुणस्तर पहिचानको निम्ति नमुना निकालेर प्रयोगशालामा परीक्षण गरिन्छ ।
किन ढिला गरिरहेको छ, राजश्व विभागले?
“परीक्षणको परिणाम आएपछि तौल अनुसार हामीले नेपाल सरकार राजश्व अनुसन्धान विभागलाई भुक्तानी दिन्छौँ,” टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले भने, “हामी त संरक्षक मात्र हौँ । त्यो राजश्व अनुसन्धान विभागको सम्पत्ति हो, पत्र आएपछि करिब एक हप्तामा सबै प्रक्रिया पूरा गर्न सक्छौँ ।”
उनले राजश्व अनुसन्धान विभागले पत्र पठाए लगत्तै प्रक्रिया सुरु गर्न सकिने बताए ।
विभागले राष्ट्र ब्याङ्कलाई अहिले सम्म किन पत्र पठाएन?
त्यसबारे सर्वसाधारणले पनि चासो राखेको र सोधखोज भइरहेको विभागले जनाएको छ ।
“बरामद भएको सामानसँग अनुसन्धानको प्रक्रिया पनि जोडिन्छ, त्यसको एउटा चरण पार गरिसकेपछि हामी पत्र पठाउँछौँ,” विभागका महानिर्देशक नवराज ढुङ्गानाले भने, “सकेसम्म हामी छिटो गर्छौँ ।” बिबिसी न्युजबाट





