झापा, ११ वैशाख । गौरादह नगरपालिकामा छ वर्षीया बालिका बलात्कृत भएकी छन् । घरमा अभिभावक नभएको मौका छोपी ती बालिकालाई छिमेकी २१ वर्षीय प्रशान्त भट्टराईले पटकपटक बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पछिल्लोपटक चैत २८ गते बलात्कार गर्दा बालिका चिच्याएपछि घटना सार्वजनिक भएको थियो । सोही दिनदेखि आरोपी भट्टराई फरार छन् । पीडितकी माइजुले विगत पाँच महिनादेखि बालिकालाई मारिदिने डर धम्की देखाउँदै अभियुक्त भट्टराईले बलात्कार गर्दै आएको बताइन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले पछिल्लोपटक बलात्कार भएलगत्तै गौरादह इलाका प्रहरी कार्यालयमा जाहेरी परेको र जिल्ला अदालतबाट अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए । हाल फरार अभियुक्त भट्टराईको खोजतलास भइरहेको उनले बताए । फरार आरोपी पक्राउ पर्न नसक्दा पीडितको परिवारमा त्रास बढेको छ । गत पुसमा पनि अभियुक्त भट्टराईले बालिकालाई बलात्कार गरेको पीडित पक्षको भनाइ छ ।
प्रहरीले पीडित बालिकाको स्वास्थ्य जाँच गरिसकेको छ । हाल बालिका आफ्नै घरमा रहेकी छन् । पीडित बालिकाको हात, खुट्टा र पेट सुन्निन थालेको जनाउँदै स्थानीय चिकित्सकबाट उपचार गराइरहेको पीडित पक्षले बताएको छ । “नानी अहिले पनि बिरामी अवस्थामै छिन्, हातखुट्टा सुन्निएको देखिन्छ”, बालिकाकी माइजुले भनिन्, “घटना थाहा पाएलगत्तै प्रहरी कार्यालयमा उजुरी दिएका थियौँ । अपराधी पक्राउ परेको छैन ।”
पीडितकी आमा खेतीपाती गर्दछिन् भने बुबा मिस्त्री काम गरेर जीविकोपार्जन गर्दै आएका छन् । बालिकाको स्वास्थ्य अवस्थासमेत चिन्ताजनक बन्दै गएको जनाउँदै परिवारका सदस्यहरू दोषीलाई तत्काल पक्राउ गरेर कानुनी कारबाहीका लागि दबाब बढाउन आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रिजालले पीडितले किटानी जाहेरी दिइसकेको र आरोपीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको हुँदा अभियुक्त छिट्टै पक्राउ पर्ने बताए । उनले फरार अभियुक्तको तीव्र रूपमा खोजी कार्य भइरहेको र प्रहरीले चाँडै पक्राउ गरी कानुनअनुसार कारबाही अघि बढाउने जानकारी दिए ।
फरार अभियुक्त भट्टराईकी आमा रीता भट्टराईले रु तीन लाखको प्रलोभन देखाउँदै घटनालाई मिलाउन दबाब दिने गरेको पीडितकी माइजूले बताइन् । अभियुक्तकी आमाले दैनिकजसो पीडितको घरमा आएर घटना मिलाउन र प्रहरीमा दिएको उजुरी फिर्ता लिन धम्की दिने गरेको उनको भनाइ छ ।
“अपराध गर्ने व्यक्ति पक्राउ नपर्नु र पैसाको लोभ देखाएर उजुरी फिर्ता लिन दबाब दिइनुले हामी त्रासमा परेका छौँ,” पीडितकी माइजूले भनिन्
, “बलात्कृत नानीको स्वास्थ्य अवस्था नाजुक छ । परिवारसँग उपचार गर्ने पैसा पनि छैन । छिटोभन्दा छिटो दोषी पक्रिनु प¥यो । कानुनी कारबाही हुनुप¥यो । हामीलाई पैसा होइन, न्याय चाहिएको छ ।”







