काठमाडौँ, २९ चैत । बलेफी हाईड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँड आज चैत्र २९ गते मंगलबार बिहान ९:०० बजे नक्साल, काठमाडौं स्थित आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ।
मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ । कुल २१ लाख ७१ हजार ७ सय ४० जना आवेदन मध्ये योग्य आवेदक २१ लाख ६८ हजार १ सय जनाले आवेदन दिएकोमा २० लाख १ हजार ७ सय ५५ जना आवेदकको हात खाली भएको छ ।
बाँकी आवेदकमा १ लाख ६६ हजार ३ सय ४२ जना आवेदकले १० कित्ताको दरले र ३ जना आवेदकले ११ कित्ताको दरले शेयर पाएका छन्। बलेफी हाईड्रोपावर लिमिटेडको आइपिओमा २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि कुल रु।२।४४ अर्ब बराबरको आवेदन परेको थियो ।
आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सक्नुहुन्छ ।
कम्पनीको जारी पूंजी रु.१.८२ अर्बको १०% अर्थात रु.१८.२७ करोडको प्रति शेयर रु.१०० अंकित दरका १८ लाख २७ हजार ९ सय ७० कित्ता साधारण शेयर मध्ये ९१ हजार ३ सय ९८ कित्ता अर्थात ५% शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको तथा ७३ हजार १ सय १९ कित्ता अर्थात ४% शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने १६ लाख ६३ हजार ४ सय ५३ कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको थियो ।
हाल कम्पनीले सिन्धुपाल्चोक जिल्लाको बलेफी खोलाको श्रोत उपयोग गरी ३६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।