Logo

बस दुर्घटना अपडेट: १५ जनाको सनाखत, एक जनाको हुन बाँकी



बारा, २० असोज । जीतपुर-सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ ।

हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा-कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका-५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी-५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा-१६ की मुन्ननी देवि चौरसिया रहेका छन् ।

त्यस्तै हेटौँडा-७ की करिब ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा-कलैया-१० का नगरिन खातुन, बारा-अमलेखगञ्जका सुरेश विक, बारा-कलैया का इन्ताज अन्सारी, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी गोर्खाका, अम्बिका कँडेल र पर्सा-१६ का सकेमप्रसाद चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बसमा ५२ जना सवार रहेको खुलेको ट्राफिक प्रहरी कार्यालय मवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जनाएका छन् । घाइतेमध्ये २१ जनालाई उपचारका लागि चितवन, आठ जनालाई वीरगञ्ज र पाँच जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । चार जना भारतीय नागरिकलाई आफन्तले भारतमा नै लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्