नवलपरासी, ५ भाद्र । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१-००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो ।
विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । घाइते सबैको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ ।







