Logo

बहिनीको शोक सम्झेर झस्किन्छिन् जुनी



बाँके, २२ कात्तिक । “मलाई बहिनीले दिदी बचाउनूस् भनिरहिन् । म आफैँ भूकम्पमा पुरिएकी थिएँ । मेरो सास रोकिएको थियो । म बोल्नै र हलचल गर्न सकिरहेकी थिइनँ । मैले टुलुटुलु हेर्नुबाहेक केही गर्न सकिनँ । मैले उनलाई बचाउन सकिनँ । मैले बहिनीलाई मेरै कारणले गुमाएँ” भन्दै चित्कारिएको आवाजले मङ्गलबार नेपालगञ्जस्थित भेरी अस्पतालको वार्ड स्तब्ध थियो ।

आफ्नो साथीजस्तै बहिनी गुमाएको पीडामा होस फर्किएदेखि छट्पटाउने गर्छिन् जाजरकोट भेरी नगरपालिका-१ की जुनी विष्ट । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दुु भएर गएको भूकम्पमा जुनीले बहिनी मात्रै गुमाएइनन, आफैँ पनि घाइते बनेकी छन् ।

जुनीको देब्रे हातको नशामा बढी चोट लागेकाले देब्रे हात चल्दैन । खुट्टा उपचार भएको चौथो दिनदेखि बिस्तारै चल्न थालेको छ तर हिँड्डुल गर्न सक्दिनन् । उनलाई अहिले शय्याबाट झर्न र चढ्न सहारा दिनुपर्छ । सुतेकै अवस्थामा पनि शय्यामा फर्कनसमेत नसक्ने जुनीलाई बहिनीको शोकले झन् थलाउँदै लगेको छ ।

भूकम्पमा परेर अर्को जीवन पाएकी १७ वर्षीया जुनी बहिनीलाई बचाउन नसकेकामा आत्मग्लानी भइरहेको छ । शनिबारदेखि भेरी अस्पतालमा उपचाररत जुनीले ‘बहिनी बचाउन सकिनँ’ भन्दै डाँको छाडेर रोइरहन्छिन् ।

अस्पतालका मनोसामाजिक परामर्शकर्ता कमला डाँगीका अनुसार जुनी उनको रेखदेखमा आएको आफन्तसँग पनि बोलदिनन् । “दिनभरि कि सलले मुख छोपेर सुत्नुहुन्छ कि त बहिनी बचाउन नसकेको गुनासो आफैँसँग गर्दै भक्कानिएर रुनुहुन्छ”, उनले भन्नि, “जुनीलाई शारीरिक चोटभन्दा बढी बहिनीलाई आँखै अगाडि गुमाउनु पर्दाको मानसिक चोट धेरै छ ।”

जुनीलाई भूकम्प केवल आफ्नो घरमा मात्र आएको र भूकम्पमा बहिनी मात्रै पुरिएको भन्ने लागिरहेको मनोसामाजिक परामर्शकर्ता डाँगीले बताइन् । अस्पतालमा भर्ना भएदेखि आजसम्म तीन चरणमा जुनीसँग कुरा गरिसकेको जनाउँदै उनले पहिलो र दोस्रो चरणमा उनी बोल्दै नबोलेको र तेस्रो चरण सामान्य चिनाजानमा मात्रै केन्द्रित रहेको बताइन् ।

डाँगीले भन्नि, “कुराकानी गर्न लागेको आज तेस्रो दिनमा मात्रै उहाँले मसँग मनमा गुम्सिएका पीडालाई भक्कानिँदै खोल्नुभयो । उनलाई आफूलाई लागेको चोटभन्दा पनि धेरै माया गरेर सँगै हुर्किएकी बहिनीलाई गुमाएकामा लागेको रहेछ ।”

भूकम्प जानुअघि शुक्रबार रातिसँगै खाना खाएर दुई बहिनी एउटै ओछ्यानमा भुइँतलामा सुतेका कुराकानीका क्रममा जुनीले बताएको डाँगीले उल्लेख गरेकी छन् । सुत्ने बेला शनिबार गाउँमा लागेको मेला हेर्न जाने र मेलामा जाँदा दिदीको नयाँ कुर्तासुरुवाल बहिनीको लगाउने सल्लाह भएकामा बहिनीको त्यो चाहना अधुरै रहेको भन्दै जुनी अस्पतालको शय्यामा भक्कानिने गरेको उनले बताइन् ।

“जुनी नबोल्दा कसैसँग पनि बोल्दिनन् । उनलाई जति नै बोलाए पनि केही जवाफ दिदिनन् । तर आफ्नै सुुरमा एकोहोरो बहिनीलाई सम्झिएर डाँको छोडेर रुन्छिन्”, मनोसामाजिक परामर्शकर्ता डाँगीले भन्नि, “उहाँको शरीरमा लागेको चोट औषधीले बिस्तारै निको हुँदै जान्छ । तर उनमा मनोसामाजिक समस्या बढी देखिएकाले यो समस्याबाट बाहिर निकाल्न अति नै संवेदनशील भएर कुरा गर्नुपर्ने हुन्छ ।”

परामर्शको चार दिनपछि डाँगीसँग मात्रै मनका कुरा बताउँदै जुनीको बुबा रोजगारीको सिलसिलामा विदेश गएको, आमा र भाइलाई सामान्य चोट लागेको बताइन् । जुनीले आफूले पनि स्टाफ नर्सको पिसिएलमा नाम निकालेको कुराकानीका क्रममा बताएको डाँगीले जानकारी दिइन् ।

उनका अनुसार जुनीले बहिनी गुमाएको शोकमा खाना, पानी, औषधीलगायत केही पनि नखाइदिनाले उनको शारीरिक चोट निको हुन समय लागेको छ । “जुनीको मन र मस्तिष्कमा लागेको आघात निको पार्न उहाँसँग परमर्श र कुराकानी गर्नु नै उत्तम उपाय हो”, डाँगीले भन्नि ।

भेरी अस्पतालमा अहिले ४९ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार अस्पतालमा भूकम्पमा परी घाइते भएका ५३ जनालाई उपचारका लागि ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्