झापा, २२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा चुनावी सरगर्मी तीव्र बनेको छ। निवर्तमान सभामुख र उपसभामुखदेखि पूर्वमन्त्री, कानुनविद्, युवा अभियन्ता र स्वतन्त्र उम्मेदवारसम्म मैदानमा उत्रिएपछि यस क्षेत्रको प्रतिस्पर्धा बहुआयामिक बनेको हो।
यस क्षेत्रबाट १५ राजनीतिक दल र तीन स्वतन्त्र गरी १८ जना उम्मेदवार चुनावी दौडमा छन्। नेकपा (एमाले) बाट निवर्तमान सभामुख देवराज घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर, नेपाली कांग्रेसबाट सरिता प्रसाईं, नेकपा (माओवादी) बाट धर्मशिला चापागाईं, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भद्रप्रसाद नेपालसहितका उम्मेदवारहरूले आ–आफ्ना एजेन्डा लिएर मतदाता भेटघाट तीव्र बनाएका छन्।
झापा–२ अन्तर्गत अर्जुनधारा नगरपालिका, कन्काई नगरपालिका–८ र ९, बुद्धशान्ति गाउँपालिकाका वडा १, २ र ३ तथा बिर्तामोड नगरपालिकाका वडा १ देखि ९ सम्म पर्दछन्। निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा १ लाख ४७ हजार ५२२ मतदाता रहेका छन् भने ४९ मतदानस्थलमा १६५ मतदान केन्द्र तोकिएका छन्।
गत २०७९ को निर्वाचनमा एमालेका घिमिरे २८ हजार ७१६ मतसहित विजयी भएका थिए भने स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल २६ हजार ४५५ मतसहित दोस्रो स्थानमा थिए। यसपटक नेपाल राप्रपाबाट उम्मेदवार बनेर पुनः चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
एमाले उम्मेदवार घिमिरेले अधुरा पूर्वाधार आयोजना सम्पन्न गर्न पुनः जनसमर्थन आवश्यक रहेको बताउँदै सडक विस्तार, चारलेन परियोजना र हात्ती प्रभावित क्षेत्रमा सुरक्षाका काम आफ्नो प्रमुख उपलब्धि भएको दाबी गरेका छन्।
रास्वपा उम्मेदवार राना मगरले सामाजिक न्याय, समावेशिता र संविधान कार्यान्वयनलाई मुख्य एजेन्डा बनाएकी छन्। स्थानीय स्तरमै हुर्किएको अनुभव र सामाजिक सेवाको पृष्ठभूमिले आफूलाई बलियो उम्मेदवार बनाएको उनको भनाइ छ।
माओवादी उम्मेदवार चापागाईंले बिर्तामोडलाई उपमहानगरसहित ‘स्मार्ट सिटी’ बनाउने योजना अघि सारेकी छन् भने कांग्रेस उम्मेदवार प्रसाईंले युवामैत्री नीति, महिला सशक्तीकरण र कृषि आत्मनिर्भरतामा जोड दिएकी छन्।
स्थानीय मतदाताले भने कृषि, ऊर्जा, उद्योग र रोजगारी सिर्जनामा ठोस योजना प्रस्तुत गर्ने सांसद आवश्यक रहेको बताएका छन्। बहुचर्चित उम्मेदवार, फरक राजनीतिक धार र स्थानीय अपेक्षाले झापा–२ को निर्वाचन यसपटक विशेष चासोको केन्द्र बनेको छ।






