काठमाडौँ, ३ भदौ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा बहुमत ल्याउने गरी तयारी गरिरहेको दाबी गरेका छन् ।
पार्टीको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुखसमेत रहेका भट्टराईले सङ्घ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आउँदो चुनावको तयारी गरिरहेको बताएका हुन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आउँदो चुनावका लागि आफ्नो पार्टीले नागरिकको आकाङ्क्षाअनुसारको घोषणापत्र निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । त्यसका लागि पार्टीका सबै विभागले विज्ञहरूसँग छलफल गरेर घोषणापत्रको मस्यौदा तयार पार्ने योजनाअनुसार काम भइरहेको पनि सचिव भट्टराईले जानकारी दिए ।
उनले भने, ‘एमालेसँग विगतमा सरकार सञ्चालन गरिसकेको अनुभव छ । हामी आउँदो चुनावमा सरकार सञ्चालन गर्ने आकाङ्क्षाका साथ तयारी गरिरहेका छौँ । त्यसो हुँदा हाम्रो घोषणापत्र बढी व्यावहारिक, बढी उपयोगी र प्रतिबद्धताहरूलाई सम्बोधन गर्दै अगाडि जाने खालको हुनुपर्छ ।’







