Logo

बहुमत ल्याउने सङ्कल्पका साथ एमाले अघि बढ्छ: भट्टराई



काठमाडौँ, १० भदौ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा बहुमत ल्याउने सङ्कल्पका साथ आफ्नो पार्टी अघि बढ्ने बताएका छन् ।

सचिव भट्टराईल शुक्रवारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकले आउँदो चुनावमा बहुमत ल्याउने सङ्कल्पसहितको सन्देश दिने दाबीसमेत गरेका हुन् ।

न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले देशको आन्तरिक तथा बाह्य दुवै कारणले नेकपा एमाले नेतृत्वको सरकारको खोजी भइरहेको भन्दै त्यही आवश्यकता पूरा हुने गरी आफ्नो पार्टीले केन्द्रीय कमिटीमार्फत चुनावी रणनीति तय गर्ने पनि स्पष्ट पारेका छन् ।

उनले भने, ‘आज यो गठबन्धनको कारणले देश सङ्कटमा छ । हाम्रो वैदेशिक सम्बन्धहरू बिग्रिराखेको छ । महाशक्ति राष्ट्रहरू नेपालको मामिलामा एकअर्काबीचमा भनाभन गरिराखेका छन् । अहिलेको सरकारको कारणले नेपालले त्यसमा सन्तुलन गुमाइरहेको अवस्था देखिन्छ । त्यसो भएको हुनाले विश्व समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने, पारस्परिक हितमा सम्बन्ध कायम गर्ने, असंलग्न परराष्ट्र नीतिलाई दृढताका साथ कार्यान्वयन गर्ने कुरा, आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको निम्ति एउटा बलियो राष्ट्रिय सामर्थ्य भएको शक्ति आवश्यक पर्छ र त्यो नेकपा एमाले हो । यिनै कुराका साथ हामी चुनावमा जान्छौँ । बहुमत ल्याउने सङ्कल्पका साथ एमाले जान्छ ।’

प्रतिक्रिया दिनुहोस्