काठमाडौँ, ११ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरेहको बताएका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको समीक्षा बैठकमा उनले मापदण्डविना नै अघिल्ला वर्षमा हालिएको बहुवर्षीय योजनाका कारण धेरै गुनासा आएको जनाउँदै अब मापदण्ड बनाएर त्यसलाई नियन्त्रण गरिने बताएका हुन् ।
उनले अन्तिम समय वैशाख-जेठमा टेन्डर गर्ने र काम नगर्ने परिपाटीको अन्त्य गर्दै अब टेन्डरको काम आर्थिक वर्षको पहिलो चैमासिकमा नै गरिसक्ने व्यवस्था मिलाउँदै लैजाने बताए ।
उनले भने, “अब हचुवाका भरमा मात्र काम गर्नेभन्दा पनि पाँचवर्षे आवधिक योजना बनाएर काम गर्नुपर्छ, अघिल्लो चार वर्षको वहुबर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी बहुवर्षीय योजना परे, धेरै गुनासा सुनिए, म आफैँ आर्थिक मामिलामन्त्री हुँदा बहुवर्षीय योजनाको मापदण्ड बनाएर त्यसलाई नियन्त्रण गरेको हुँ ।”
अघिल्लो सरकारले हालेका बहुवर्षीय योजनाको बोझ बोक्नुपरेको र ३० देखि ४० प्रतिशत काम मात्रै भएकाले त्यसलाई सम्पन्न गर्न थप चुनौती रहेको उनले बताए । काठमाडौँ-हेटौँडा जोड्ने भैँसे-भीमफेदी, फाखेलदेखि फर्पिङसम्मको बाटो मुख्यमन्त्री भएपछि प्राथमिकताका साथ अगाडि बढाए पनि काम सुस्त र गुणस्तरीय हुन नसकेको उनको भनाइ छ ।
पहिलो सरकारको कार्यकालबाट सुधार सुरु भएको काठमाडौँ-हेटौँडा सडकखण्डको भीमफेदीको सडकको काम तीव्र गतिमा सम्पन्न गर्न सवारी साधन ‘डाइभर्ट’ गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयमा निर्माण सम्पन्न गर्न नसकेकोप्रति उनले चिन्ता व्यक्त गरेका थिए ।





