Logo

बागमतीका नवनियुक्त आठ मन्त्रीले लिए शपथ



काठमाडौँ, ११ माघ । बागमती प्रदेश सरकारका नवनियुक्त आठ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार नियुक्त गरेका आठ मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेशमा रहेका १४ मन्त्रालयलाई ११ मा झार्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री जम्मकट्टेलले गठन गरेको अध्ययन कार्यदल समितिले प्रदेशमा ९ वा ११ मन्त्रालय राख्न दिएको सुझावअनुसार ११ मन्त्रालय राख्ने निर्णय भएसँगै बुधबार मन्त्रिपरिषद् विस्तार भएको छ ।

विस्तारमा सत्तारुढ गठबन्धनको नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित चार, नेकपा एमालेले चार र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तीन मन्त्री पाएको छ । माओवादीले यसअघि नै मुख्यमन्त्री पाइसकेको थियो भने एमालेबाट पनि दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीसँगै अर्थमन्त्रीको शपथ ग्रहण गरिसकेका थिए ।

त्यसैगरि राप्रपा संसदीय दलका नेता उद्धव थापा विना विभागीय मन्त्री बनेका थिए । थापाले बुधबार खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राप्रपाबाट अरु दुई जना मन्त्री बनेका छन् ।

बुधबार नेकपा माओवादी केन्द्रबाट कुमारी मुक्तान सामाजिक विकास मन्त्री, युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री र गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् ।

नेकपा एमालेबाट केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र एकालाल श्रेष्ठ रोजगार तथा यातायात मन्त्री बनेका छन् ।

राप्रपाबाट डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका हुन् । योसँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्