Logo

बागमतीका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूद्वारा शपथ ग्रहण



मकवानपुर, २० साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय हेटौँडामा मङ्गलवार दिउँसो एक समारोहबिच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १७२ तथा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । नेपालको संविधानको धारा १६८ को २ अनुसार प्रदेश प्रमुख देवकोटाले बानियाँलाई आजै दिउँसो मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।

प्रदेशका छैटौँ मुख्यमन्त्री बन्नुभएका बानियाँ नेपाली काँग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । नेपाली काँग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहनु भएका बानियाँले मुख्यमन्त्री समक्ष हिजो नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार निर्माणका लागि दाबी पेश गर्नुभएको थियो । उहाँलाई ११० सदस्यीय प्रदेशसभामा नेपाली काँग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थन छ । मुख्यमन्त्री बानियाँको शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल लगायतको उपस्थिति रहेको थियो ।

नवनियुक्त आठ मन्त्रीद्वारा शपथ ग्रहण

बागमती प्रदेशका नवनियुक्त आठ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा नियुक्त गर्नु भएका ८ जना मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री बानियाँले आजै सरकार विस्तार गर्नुहुँदै एमालेका ६ र काँग्रेसका २ जनालाई मन्त्री नियुक्त गर्नुभएको थियो । नवनियुक्त प्रदेश प्रमुख देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै कार्यविभाजन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्