Logo

प्रधानमन्त्री कप क्रिकेट: बागमतीसँग कर्णाली पराजित



काठमाडौँ, ८ माघ । बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको खेलमा कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।

कर्णालीले प्रस्तुत गरेको ७९ रनको समान्य लक्ष्य बागमतीले १३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ४० रन जोडे । त्यस्तै रविन जोशीले अविजित १६ रन बनाए । आशुतोष घिरैयालाई नौ रन जोड्दा रित गौतमले आठ बनाए । कर्णालीका लागि तीनै विकेट दिवान पुनले लिएका थिए ।

यस जितसँग बागमतीले छ खेलमा चारमा जित तथा दुई हारसहित आठ अङ्क जोडेको छ । बागमतीले यसअघि मधेस प्रदेश, त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशलाई हराएको थियो । त्यस्तै नेपाल पुलिस क्लब र एपिएफसँग भने बागमती पराजित भएको थियो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २४ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले २३ र निश्चल रावलले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बागमतीका लागि रिजन ढकालले पाँच विकेट लिए भने इशान पाण्डेले दुई तथा प्रतिश जिसी, सूर्य तामाङ र विपिन आचार्यले समान एक-एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्